
विराटनगर । नेपाली विद्युतीय सवारीसाधन बजारमा आफ्नो बलियो पकड बनाउन सफल ओमोडाले थप अत्याधुनिक सुविधासहितको नयाँ मोडल ‘ओमोडा ई–फाइभ प्रो’ सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले विराटनगरमा एक विशेष समारोहका बीच यो नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो ।
नेपालमा यसअघि नै ओमोडा ई–फाइभका १ हजार ५ सयभन्दा बढी युनिट बिक्री भइसकेका छन् । सोही सफलतालाई थप उचाइमा पुर्याउन कम्पनीले अझ परिष्कृत प्रविधि र प्रिमियम फिचरसहित ‘प्रो’ संस्करण बजारमा ल्याएको जनाएको छ ।
नयाँ ओमोडा ई–फाइभ प्रोमा ५०.७ किलोवाट घण्टा क्षमताको ब्याट्री र ९९ किलोवाटको शक्तिशाली विद्युतीय मोटर जडान गरिएको छ । यसले २८८ न्युटन–मिटर टर्क उत्पन्न गर्छ भने एक पटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
नेपाली सडकलाई मध्यनजर गर्दै यसमा १९१ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र १८ इन्चका आकर्षक अलोय ह्विल दिइएको छ । गाडीको बाहिरी बनावटमा फ्यान्टम विङ टेललाइट र एरोडाइनामिक बडीले यसलाई निकै आकर्षक र भविष्यवादी देखाएको छ ।

गाडीको भित्री भागमा चालकका लागि मसाज सुविधासहितको सिट, ८ वटा सोनी स्पिकर र १५.६ इन्चको ठुलो इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । सुरक्षाका लागि यसमा १९ भन्दा बढी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा जडान गरिएको छ । जसले यात्रालाई अत्यन्त सुरक्षित र सहज बनाउने कम्पनी उल्लेख गरेको छ । कम्पनीले यसको मूल्य सिंगल टोन भेरियन्ट ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टको ५१ लाख ९९ हजार रुपैयाँ सार्वजनिक गरेको छ ।
‘लन्चिङ’को अवसरमा कम्पनीले पहिलो ५० ग्राहकका लागि ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य निर्धारण गरेको जनाएको छ । साथै, ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस बिमा सुविधा समेत पाउने छन् ।
गाडी सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा, एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप सारडा, प्रदीप सारडा, गौरव सारडा र अमित सारडा, अनिल सारडाको उपस्थिति थियो । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय सुयेश प्याकुरेल, नवीन रिजाल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठी र उद्योगी महेश जाजु लगायतको उपस्थिति रहेको थियो ।
नयाँ ओमोडा ई–फाइभ प्रोको बुकिङ देशभरका आधिकारिक शोरूमहरूबाट सुरु भइसकेको कम्पनीले जनाएको छ । सो अवसर नयाँ गाडी खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो ।



















