
एजेन्सी । सन् २०२५ मा इजरायलले हतियार बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । हतियार बिक्री ३० प्रतिशतले बढ्दै १९.२ अर्ब अमेरिकी डलर पुगेको हो ।
इजरायलको रक्षा मन्त्रालयका अनुसार हतियार निर्यात इतिहासकै नयाँ रेकर्ड हो । लगातार पाँचौं वर्ष इजरायलले हतियार निर्यातमा नयाँ कीर्तिमान कायम गरेको हो भने पछिल्ला पाँच वर्षमा निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
सबैभन्दा धेरै माग क्षेप्यास्त्र, रकेट तथा हवाई प्रतिरक्षा प्रणालीको रहेको मन्त्रालयले जनाएको छ । साथै, निगरानी उपकरण, राडार र इलेक्ट्रोनिक रक्षा प्रणालीको बिक्री पनि उल्लेखनीय रूपमा बढेको छ ।
द इकोनोमिक टाइम्सका अनुसार सन् २०२५ मा इजरायली कम्पनीहरूले विश्वका विभिन्न देशसँग सयौँ नयाँ हतियार सम्झौता गरेका थिए । तीमध्ये आधाभन्दा बढी सम्झौताहरू १० करोड अमेरिकी डलरभन्दा माथिका थिए ।
रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायली हतियार उद्योगहरू युद्धकालीन ढाँचामा सञ्चालन भइरहेको जनाएको छ । उद्योगहरूले इजरायली सेनाका लागि चौबीसै घण्टा उत्पादन जारी राख्दै विदेशी ग्राहकसँग भएका सम्झौताहरू पनि एकैसाथ पूरा गरिरहेका छन् ।
मन्त्रालयका अनुसार विभिन्न युद्ध मोर्चामा इजरायली रक्षा प्रणालीले देखाएको प्रभावकारी प्रदर्शनपछि विश्व बजारमा इजरायली रक्षा प्रविधिप्रति माग उल्लेखनीय रूपमा बढेको हो । क्षेत्रगत रूपमा इजरायलका हतियार सम्झौतामध्ये ३६ प्रतिशत युरोपसँग भएका छन् ।
एसिया–प्रशान्त क्षेत्रको हिस्सा ३२ प्रतिशत, मध्यपूर्व तथा उत्तर अफ्रिकाको १५ प्रतिशत र उत्तर अमेरिकाको १३ प्रतिशत रहेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले युद्धभूमिमा इजरायली सेनाले हासिल गरेको सफलताले विश्व बजारमा इजरायली हतियार र रक्षा सामग्रीको माग बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।



















