
म्याग्दी । विश्व पर्वतारोहण इतिहासमा विशेष स्थान बनाएको अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहण भएको ७६ वर्ष पूरा भएको छ ।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनल नेतृत्वको टोलीले पहिलो पटक मानव पाइला टेकेको थियो । यसलाई विश्व पर्वतारोहण इतिहासमा अत्यन्तै महत्वपूर्ण उपलब्धि मानिन्छ, किनभने अन्नपूर्णको सफल आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको बाटो खुलेको मानिन्छ ।
अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा पर्छ । आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो सफल आरोहण भएकाले अन्नपूर्णलाई ‘जेठो हिमाल’ पनि भनिन्छ ।
यस अवसरमा आज (बुधबार) विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकतर्फको आधार शिविरसम्म दौड प्रतियोगिता आयोजना गरेको छ भने नयाँ पदमार्ग प्रवर्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा पनि विशेष कार्यक्रम गरिएको छ ।
पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३६ जनाले अन्नपूर्ण हिमाल सफल आरोहण गरिसकेका छन् । यस वर्षको वसन्तयाममा चार समूहका २७ जना आरोहीले अनुमति लिएका थिए । उनीहरूले सफल आरोहण गरे–नगरेको विवरण भने अझै अद्यावधिक भइरहेको विभागले जनाएको छ ।
दिवसको समापन नारच्याङमा ३६ किलोमिटर दूरीको दौड प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित गरिने भएको छ । खुला दौड प्रतियोगितामा विजेतालाई एक लाख रुपैयाँ, दोस्रो हुनेलाई साठी हजार रुपैयाँ, तेस्रो हुनेलाई पैंतीस हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने तीन–तीन जनालाई दस–दस हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।



















