
विराटनगर । विराटनगरमा जारी ५ औँ एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिकेभिएम, डनबस्को र नरग्राम विजयी हुँदै क्वाटर फाइनलमा पुगेका छन् ।
पोखरिया युथ केयर एकेडेमीको आयोजना तथा विराटनगर महानगरपालिका–१ को सहकार्यमा विराटनगरको भट्टा चोकस्थित परोपकार खेल मैदानमा भएको खेलमा बिकेभिएम, डनबस्को र नरग्राम विजयी हुँदै क्वाटर फाइनलमा पुगेका हुन् ।
प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा विराटनगरको बालकल्याण विद्या मन्दिर (बिकेभिएम) ले विराटनगरकै दिल्ली पब्लिक स्कुललाई २–१ गोलमा हराउँदै क्वाटर फाइनलमा पुगेको छ । बिकेभिएमका लागि प्लेयर अफ द म्याच समिर खड्काले २ गोल गरे भने एक मात्र सान्त्वना गोल दिल्ली पब्लिकका लागि रुद्रमाजी गरे ।
अर्को खेलमा, विराटनगरको डनबस्को स्कुलले विराटनगरकै ज्ञान सारथि स्कुललाई ८–० को फराकिलो गोलमा पराजित गर्दै क्वाटर फाइनलमा पुगेको छ । डनबस्काका लागि प्रकाश कामतले ४ गोल, तनोज राजवंशीले २ गोल तथा गायस बुढाथोकी र सफल कट्टेलेले १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको प्लेयर अफ द म्याच तनोज राजवंशी भए ।
त्यस्तै, अर्को खेलमा मोरङको बुढीगंगास्थित टंकीसिनवारीको नरग्राम माविले राधाकृष्ण माविलाई ४–३ गोलमा हराउँदै क्वाटर फाइनलमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोलीबाट समान १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । नरग्रामका लागि प्लेयर अफ द म्याच प्रदीप बुढाथोकी र राधाकृष्णका लागि अविनाश मण्डल गोल गरेका थिए ।
इटहरीको सनसाइन बोर्डिङ स्कुलले जनता माविलाई २–१ गोलमा पराजित गर्दै पहिलो चरणमा प्रवेश गरेको छ । सनसाइनका लागि प्लेयर अफ द म्याच उज्ज्वल मगरले २ गोल गर्दै टोलीलाई विजयी बनाए । जनताका लागि एक मात्र गोल भुवन अधिकारीले गरे ।
प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल विराटनगरको महेन्द्र मावि र सत्यनारायण मावि, दोस्रो खेल विराटनगरको सनसाइन स्कुल र कोशी मोडल तथा तेस्रो खेल आदर्श मावि र सनसाइन खनारबीच हुने आयोजकले जनाएको छ ।

























