
झापा । झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठुलो परिमाणको गाँजा र खैरो हिरोइन (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, मोरङ र भोजपुरका व्यक्तिहरू रहेको झापा प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड नगरपालिका–४ स्थित एक घरमा छापा मारेको थियो । सो क्रममा पाँच किलो ९० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का २० वर्षीय सागर राई रहेका छन् ।
यस्तै, झापा गाउँपालिका–४ स्थित टाघनडुब्बा क्षेत्रबाट प्रहरीले दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिहरूमाथि शंका लागेर प्रहरी चौकी टाघनडुब्बाको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको हो ।
पक्राउ पर्नेमा दमक नगरपालिका–१० का ३२ वर्षीय सुरज राय रहेका छन् । उनको साथबाट ६ ग्राम १ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै, विराटनगर महानगरपालिका–३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























