
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने विषयमा गम्भीर छलफल भएको बताएका छन् ।
बुधबार भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका अप्ठ्यारा र अविश्वासबाट माथि उठाएर विकास, सहकार्य र साझा समृद्धिमा केन्द्रित नयाँ चरणतर्फ लैजानुपर्ने विषयमा विस्तृत कुराकानी भएको उल्लेख गरेका हुन् । उनका अनुसार भेटवार्ता झण्डै एक घण्टासम्म चलेको थियो ।
भेटमा दुई देशबीचको ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ मजबुत बनाउने, आधुनिक प्रविधिमा आधारित सहकार्य विस्तार गर्ने, सीमा क्षेत्रको आवागमनलाई सहज बनाउने तथा आर्थिक र पूर्वाधार विकासमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो । लामिछानेले नेपाल र भारतबीच विश्वासमा आधारित साझेदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन् ।
उनले साझा हितका क्षेत्रमा सहकार्य बढाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक तहमा सीमित नभई सामाजिक, सांस्कृतिक, आर्थिक र जनस्तरसम्म फैलिएको उल्लेख गर्दै भविष्यमा त्यसलाई अझ व्यवहारिक र परिणाममुखी बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् ।
लामिछानेले आफ्नो दल साझा समृद्धि, आर्थिक सहकार्य र क्षेत्रीय विकासका सम्भावनालाई व्यवहारमा उतार्न सकारात्मक रूपमा तयार रहेको पनि बताएका छन् । मोदीसँगको भेटलाई उनले फलदायी र भविष्य उन्मुख संवादको रूपमा व्याख्या गरेका छन् ।

























