महानगरका ११ हजार ६ सय बालबालिका खोपको पहुँचमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार २०:३१
महानगरका ११ हजार ६ सय बालबालिका खोपको पहुँचमा

विराटनगर । विराटनगर महानगरपालिकाले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै महानगरभित्रका ११ हजार ६ सय ३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको छ ।

० देखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले महानगरका सबै १९ वटै वडामा खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको हो ।

Advertisement

महानगरपालिकाको तथ्यांकअनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ०–११ महिनाका २ हजार १३९ जना, १२–१५ महिनाका ९७७ जना, १६–२३ महिनाका १ हजार ५४८ जना र २४–५९ महिनाका ६ हजार ९६६ जना रहेका छन् । यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको छ ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको अवसरमा आयोजित एक विशेष समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर १ देखि १९ सम्मका सबै वडालाई  ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ सम्बन्धी प्रमाणपत्र प्रदान गरे । आवश्यक सबै सूचकहरू पूरा गरेका वडाहरूलाई सम्मान स्वरूप सो प्रमाणपत्र वितरण गरिएको महानगरले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए ।  ‘खोप अभियानले बाल मृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न र स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ,’ मेयर कोइरालाले भने, ‘पूर्ण खोप सुनिश्चितता हासिल गर्नु मात्रै अन्तिम लक्ष्य होइन, यसको दिगोपना कायम राख्नु अझ ठुलो चुनौती हो । यसका लागि सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक छ ।’

महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि र स्वास्थ्यकर्मीहरूको सक्रिय परिचालनका कारण यो सफलता सम्भव भएको जानकारी दिए ।

त्यस्तै, खोप संयोजक सुशील साहले स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र अभिभावकबीचको समन्वयले अभियान सफल भएको बताए । स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्ण खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानस जस्ता रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यसको दिगोपनामा विशेष जोड दिने बताए ।

कार्यक्रममा सहभागी विभिन्न वडाका अध्यक्षहरूले स्वास्थ्य क्षेत्रमा प्राप्त यस उपलब्धिलाई जोगाइराख्न वडा तहबाट नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । पूर्ण खोप कार्यक्रमले बाल स्वास्थ्य सूचक सुधार्नुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रमा पर्ने आर्थिक भार कम गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.