पहाडमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार ०६:२२

काठमाडौं । पश्चिमी भू–भागनजिक उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज (बिहीबार) देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी भू–भागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । तराईका केही क्षेत्रमा गर्मी बढ्ने अनुमान गरिएको छ ।

Advertisement

महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको छ ।

बिहीबार दिउँसो देशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।

त्यसैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

रातको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.