केही प्रदेशमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार ०६:५१

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण देशका विभिन्न प्रदेशमा बदली, वर्षा तथा तातो लहरको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज (शुक्रबार) बिहान कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

Advertisement

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहरको अवस्था रहने सम्भावना रहेको छ । साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो दिन रहने पूर्वानुमान गरिएको छ ।

राति कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भू–भाग र मधेश प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशका थोरै स्थानमा तथा मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.