
विराटनगर । मोरङमा सीटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ ललिया चोकस्थित भित्री पक्की सडक खण्डमा बिहीबार दिउँसो ३ः५५ बजेतिर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार अमाहीवरियातीबाट कर्सियातर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५९९५ नम्बरको सफारीले बाटोमा उभिएका पैदालयात्री धनपालथान–२ का ५५ वर्षीय उमेश मण्डललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका दिए ।
दुर्घटनालगत्तै प्रहरीले सीटी सफारी र चालक धनपालथान–२ का ५७ वर्षीय शिवनाथ मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सफारी चालक मण्डलसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स)समेत नभएको पाइएको छ ।

























