
जहदा, मोरङ । लागूऔषध दुर्व्यसनको बढ्दो जोखिमबाट युवा पुस्तालाई जोगाउने उद्देश्यले जहदा गाउँपालिकामा नेपाल प्रहरीको ‘लागूऔषध दुर्व्यसन विरुद्धको महाअभियान’ अन्तर्गत वृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीले गरेकाे कार्यक्रममा सचेतनामूलक र्याली, लागूऔषधविरुद्धको नाटक तथा अन्तरक्रियामार्फत विद्यार्थी, अभिभावक र स्थानीय समुदायलाई लागूऔषधको असरबारे जानकारी गराइएको थियो ।
जहदा गाउँपालिका परिसरबाट सुरु भएको र्याली विभिन्न जनचेतनामूलक नारासहित डन बोस्को विद्यालयसम्म पुगेको थियो ।
कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले अभिभावकलाई आफ्ना छोराछोरीको गतिविधिमाथि निगरानी राख्न आग्रह गर्दै लागूऔषध दुर्व्यसनबाट टाढा राख्न परिवारको भूमिका महत्वपूर्ण हुने बताए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले विद्यार्थीहरूलाई सकारात्मक सोचसहित राष्ट्र निर्माणमा योगदान दिन आह्वान गर्दै लागूऔषधविरुद्ध आफू मात्र होइन, साथीभाइ र परिवारलाई समेत सचेत बनाउन आग्रह गरे । उनले लागूऔषधसम्बन्धी कुनै गतिविधिको जानकारी भए प्रहरीको १०० नम्बरमा सम्पर्क गरी सूचना दिन समेत अनुरोध गरे ।
लागूऔषधमुक्त समाज निर्माणका लागि प्रहरी, स्थानीय सरकार, विद्यालय, अभिभावक र युवाहरूको साझा प्रतिबद्धता आवश्यक रहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो ।



















