
काठमाडौं । सगरमाथा क्षेत्रमा बेपत्ता भएका पर्वतारोहण गाइड दावा शेर्पाको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उनी ६ दिनपछि खुम्बु आइसफल क्षेत्रमा घाइते अवस्थामा फेला परेका थिए ।
अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार शेर्पालाई लामो समय हिमाली क्षेत्रमा अलपत्र परेका कारण जलवियोजन भएको छ । सगरमाथाबाट मृत्यु जितेर फर्किएका उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार अघि बढाइएको छ ।
चिकित्सकीय परीक्षणका क्रममा दुवै हातका कान्छी औँलामा दोस्रो चरणको हिमदंश देखिएको छ भने दायाँ हातका बुढी र माझी औँलामा पहिलो चरणको हिमदंश पुष्टि भएको अस्पतालले जनाएको छ । त्यसैगरी, दाहिने खुट्टाको तीघ्राको हड्डी भाँचिएको र सोही भागको मांसपेशीमा रगत जमेको पाइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले शेर्पाको स्वास्थ्य अवस्था स्थिर रहेको र जलवियोजनमा सुधार देखिएको जानकारी दिएका छन् । ओखलढुंगाका शेर्पा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए ।
उनी एक विदेशी आरोहीसँग सगरमाथा आरोहणमा गएका थिए । बिहीबार हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।




















