
इनरुवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा शुक्रबार राति सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दिप पौडेलको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार शुक्रबार राति १० बजेतिर दुर्घटना भएको हो ।
संखुवासभाको प्रहरी चौकी चेपुवा लिंगम दरबन्दी भएका पौडेल सुनसरीको प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत थिए । कार्यालयको काम विशेषले प्रहरी चौकी कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ मोटरसाइकलमा आउने क्रममा उनी दुर्घटनामा परेको डीएसपी खड्काले बताए ।
उनका अनुसार प्रहरी जवान पौडेलले चलाएको स ११ प २५०० नम्बरको मोटरसाइकल प्र १–०२–००३ ह १०५२ नम्बरको सीटी सफारीसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका पौडेललाई उद्धार गरेर उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल भोक्राहा लगिएको भए पनि चिकित्सकले राति १०ः२० बजेतिर मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि सीटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट प्रहरी नायब निरीक्षक (सई) सुरेश यादवको नेतृत्वमा खटिएको टोलीले दुवै सवारी साधन नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक रहेका प्रहरी जवान पौडेलले सडकमा ध्यान नदिँदा र तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

























