लगातारको वर्षाले सडक बगायो, यातायात ठप्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १३:३२

संखुवासभा । संखुवासभामा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पाँचखपन नगरपालिकाअन्तर्गत बिहिबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्डमा क्षति पुगेपछि शनिबार बिहानदेखि यातायात सञ्चालन ठप्प बनेको हो । संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर धनबहादुर राजवंशीका अनुसार शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध बनाएको हो । पाँचखपन नगरपालिका–७ र ८ को बीचमा पर्ने चिउंखुवा खोलामा आएको बाढीले बिहिबारे–पोख्राङ भित्री सडकखण्डमा क्षति पुर्‍याएको उनले बताए ।

Advertisement

प्रहरीका अनुसार कल्लेरी क्षेत्र आसपास चिउंखुवा खोलामा आएको बाढीले सडकको करिब १५ मिटरभन्दा बढी भाग बगाएको छ । सडक भासिनुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि पाँचखपन हुँदै चैनपुर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन रोकिएका छन् ।

बाढी र पहिरोका कारण पाँचखपनको चुङखुरुङतर्फको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । सडक माथिबाट पहिरो खस्नुका साथै खोलाले सडक कटान गरेपछि सडक पूर्ण रूपमा बन्द भएको हो

उक्त सडकमा कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । वर्षासँगै खोलामा पानीको बहाव बढेपछि निर्माणाधीन सडकका विभिन्न भागमा समेत क्षति पुगेको छ । केही स्थानमा सडकको ट्र्याक नै बगाएको छ ।

सडक अवरुद्ध भएपछि पाँचखपन र चैनपुरबीच दैनिक आवतजावत गर्ने यात्रु, बिरामी तथा स्थानीय व्यापारी समस्यामा परेका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई खाद्यान्न ढुवानी तथा अत्यावश्यक सेवा प्रभावित हुने चिन्ता बढेको छ ।

प्रहरीले सडक खुलाउने प्रयासका लागि स्थानीय तह, निर्माण कम्पनी तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ । मौसममा सुधार आएपछि क्षतिको विस्तृत विवरण संकलन गरी सडक सञ्चालनमा ल्याइने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.