
उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ चिसापानीमा शनिबार बिहान ईभी हायस दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् ।
मुर्कुचीबाट जलजलेतर्फ जाँदै गरेको कोशी प्रदेश ०५–००१ ज ००७७ नम्बरको हायस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरेर प्रहरीले उपचारका लागि पठाएको थियो ।
दुटनामा चालक त्रियुगा नगरपालिका–८ का ४२ वर्षीय ईश्वरकुमार दनुवारसहित १३ जना घाइते भएका हुन् । घाइतेमध्ये गम्भीर अवस्थाका ५ जनालाई उपचारका लागि विराटनगर रेफर गरिएको थियो ।
थप उपचारका लागि विराटनगर पठाइएका घाइतेहरुमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१४ का ५१ वर्षीय कुमार लामा, चितवनको कालिका नगरपालिका–१ की ३० वर्षीया सीमा लामा, पाँच वर्षीया योशिका लामा, मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२ का ५६ वर्षीय वीरमान घलान र २८ वर्षीया रचना लामा रहेका छन् ।
अन्य आठ जना घाइते प्रारम्भिक उपचारपछि डिस्चार्ज भएका छन् । उपचार गराएर डिस्चार्ज भएपछि चालक ईश्वरकुमार दनुवारलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाको थप अनुसन्धान अघि बढाएको छ ।



















