
काठमाडौं । नेपाल र भारतबीच कूटनीतिक, आर्थिक र प्रविधिगत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी तीन महत्त्वपूर्ण एवं सहमतिहरू भएका छन् ।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा भएको उच्चस्तरीय वार्तापछि सीमापार डिजिटल भुक्तानी, भूकम्पपछिको पुनर्निर्माण तथा भाषा प्रविधि सहकार्यसँग सम्बन्धित महत्वपूर्ण सम्झौता भएका हुन् । दुवै देशका मन्त्रीबीच शनिबार सम्पन्न भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयाममाथि व्यापक समीक्षा गरिएको थियो ।
छलफलमा व्यापार, आर्थिक साझेदारी, ऊर्जा, जलस्रोत, सीमापार पूर्वाधार तथा जनस्तरको सम्बन्ध विस्तारका विषयलाई प्राथमिकताका साथ उठाइएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । वार्तापछि सार्वजनिक गरिएको संयुक्त समझदारीअनुसार अब नेपाल र भारतबीच व्यक्तिदेखि व्यक्ति सीमापार डिजिटल भुक्तानी प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
सन् २०२३ जुनमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीलाई कार्यान्वयनमा लैजाँदै यो सेवा सुरु गरिएको हो । यसबाट दुई देशबीच यात्रा, व्यापार तथा व्यक्तिगत आर्थिक कारोबार थप सहज हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, भारत सरकारको सहयोगमा नेपालमा निर्माण सम्पन्न भएका ८४ वटा पुनर्निर्माण परियोजनाहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । तीमध्ये स्वास्थ्य क्षेत्रका ७२ वटा र सांस्कृतिक सम्पदा क्षेत्रका १२ वटा परियोजना रहेका छन् । आयोजनाहरु २०७२ सालको विनाशकारी भूकम्पपछि भारतले गरेको विकास सहायताअन्तर्गत निर्माण गरिएका हुन् ।
प्रविधि क्षेत्रमा पनि नेपाल र भारतबीच नयाँ सहकार्य अघि बढाइएको छ । काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ अन्तर्गत रहेको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’ र भारतको ‘डिजिटल इन्डिया भाषिनी डिभिजन’बीच ‘भोइस फर्स्ट’ भाषा अनुवाद मञ्च निर्माणका लागि सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सहकार्यले नेपालीसहित दक्षिण एशियाली भाषाहरूलाई डिजिटल प्रविधिसँग जोड्ने र भाषागत पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।
बैठकमा दुवै मन्त्रीहरूले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र पारस्परिक हितमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हाल सञ्चालनमा रहेका द्विपक्षीय परियोजनाहरूको प्रगतिबारे समीक्षा गर्दै तिनको कार्यान्वयनलाई तीव्रता दिने विषयमा समेत छलफल भएको थियो ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको जनाइएको छ । बहुपक्षीय मञ्चहरूमा सहकार्य बढाउने, विकास साझेदारीलाई विस्तार गर्ने तथा साझा प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्ने समझदारीसमेत भएको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री खनाल भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

























