मधेस प्रदेशमा पहिलो पटक भेटियो नेपालको मात्र रैथाने चरा ‘काँडे भ्याकुर’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार १५:२८
मधेस प्रदेशमा पहिलो पटक भेटियो नेपालको मात्र रैथाने चरा ‘काँडे भ्याकुर’

काठमाडौं । विश्वमा नेपालमा मात्र पाइने दुर्लभ एवं रैथाने चरा  ‘काँडे भ्याकुर’ पहिलो पटक मधेस प्रदेशमा फेला परेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोला नजिकैको चुरे वन क्षेत्रमा यो चरा फेला परेको हो ।

नेपाल पन्छीविद् संघ र मिथिला वाइल्डलाइफ ट्रस्टको संयुक्त आयोजनामा मधेस प्रदेशका आठ वटै जिल्लामा जारी चरा सर्वेक्षणका क्रममा यो दुर्लभ उपलब्धि हासिल भएको हो । पन्छीविद्हरू हठन चौधरी र सुरज बरालको टोलीले गत २१ जेठमा यो चराको आधिकारिक अभिलेख गरेका हुन् ।

Advertisement

महेन्द्र राजमार्गको पूर्वतर्फ पर्ने नमुना महिला सामुदायिक वन क्षेत्रको घाँसे मैदान र झाडीमा काँडे भ्याकुर भेटिएको थियो । समुद्री सतहबाट मात्र ४ सय ४३ मिटरको उचाइमा यो चरा भेटिनु आफैँमा एउटा नयाँ रेकर्ड हो । पन्छीविद्हरूका अनुसार उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा गरिएको अभिलेख हो । यसअघि यो चरा सामान्यतया अलि बढी उचाइका पहाडी भेगहरूमा पाइने गरिन्थ्यो ।

चरा अवलोकन टोलीमा वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसका विद्यार्थीहरू आशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेल समेत सहभागी थिए ।

वैज्ञानिक नाम  ‘एकान्थोप्टिला निपालेन्सिस’ भएको काँडे भ्याकुर नेपालको मात्र रैथाने चरा हो । यो चरा यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा फेला परिसकेको भए पनि मधेस प्रदेशमा भने यसको आधिकारिक अभिलेख हुन सकेको थिएन । बारामा यो चरा भेटिएसँगै अब नेपालका सातै प्रदेशमा यसको भौगोलिक फैलावट रहेको पुष्टि भएको छ ।

नेपाल पन्छीविद् संघका अध्यक्ष हठनराम महतो र मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार मधेस प्रदेशमा चराको अवस्था र प्रजातिबारे बुझ्न दोस्रो चरणको गर्मीयाम लक्षित सर्वेक्षण भइरहेको छ । यो अनुसन्धान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागको अनुमतिमा सञ्चालन गरिएको हो ।

विश्वमा नेपालबाहेक अन्यत्र कतै नपाइने हुनाले अन्तर्राष्ट्रिय चरा प्रेमी र अनुसन्धानकर्ताका लागि काँडे भ्याकुर निकै आकर्षक र महत्त्वपूर्ण चरा मानिन्छ । मधेस प्रदेशमा पनि यसको उपस्थिति देखिनुले नेपालको जैविक विविधता संरक्षणमा नयाँ उत्साह थपेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.