
काठमाडौं । देशभर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव देखिँदा आज (सोमबार) पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने तथा तराईका केही भू–भागमा तातो हावा चल्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ । मौसम प्रणालीको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने ती प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार तराई क्षेत्रमा तापक्रम क्रमशः बढ्दै गएको छ ।
विशेषगरी मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थानमा तातो हावा चल्न सक्ने र दिनको समयमा अत्यधिक गर्मी महसुस हुने पूर्वानुमान गरिएको छ । महाशाखाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा मौसमको जानकारी राख्न तथा तथा तराई क्षेत्रमा अत्यधिक गर्मीबाट बच्नलाई आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

























