
इनरुवा । सुनसरीमा सडकमा रोकेर राखिएको टिपरमा तीन जना सवार मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनी नगरपालिका–२ तित्रीवनमा आइतबार राति ११ः१५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार टायर पन्चर भएका कारण सडकको साइडमा रोकेर राखिएको १ ख ५१२८ नम्बरको टिपरमा झुम्काबाट इनरुवातर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरीको मृत्यु भएको खड्काले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र इनरुवा–३ का २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् । घाइतेमध्ये आर्यनको विराट नर्सिङमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शरीरमा कुनै चोटपटक नरहेका र सामान्य अवस्थाका आशिष भने घरतर्फ गएका छन् ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लाल मोहमद मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



















