
विराटनगर । विराटनगरमा तास खेलिरहेका १२ जना सोमबार बिहानका राति पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट अढाई लाख रूपैयाँभन्दा बढी रकम बरामद भएको छ ।
विराटनगर महानगरपालिका–११ जनपथ टोलका महेश अग्रवालको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बिहानका राति १ः३० बजेतिर छापा हानेको थियो । तासको खालमा छापा हानेर प्रहरीले विराटनगर–६ का ४० वर्षीय दिलिप साह, विराटनगर–९ का १९ वर्षीय राधे कामत, सुरज शर्मा, १८ वर्षीय निरज साह, २० वर्षीय रोहित सहनी तथा विराटनगर–११ का ७१ वर्षीय मेहिनीप्रसाद प्रसाईं, ३९ वर्षीय पोषण सहनी र विराटनगर–१२ का ४२ वर्षीय भरतकुमार राईलाई पक्राउ गरेको छ ।
त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका–५ का ३३ वर्षीय रञ्जित साह, बुढीगंगा गाउँपालिका–२ का ४६ वर्षीय ओमनाथ ढकाल, कटहरी गाउँपालिका–४ का ४७ वर्षीय रामु कामत र उदयपुर गाईघाटका ४६ वर्षीय लोकचन्द्र कार्की पनि पक्राउ परको छन् । तासको खाल सञ्चालन भएको घरका धनी महेश अग्रवाललाई भने प्रहरीले पक्राउ गरेको छैन ।
तासको खालबाट २ लाख ५७ हजार ४ सय रूपैयाँ नगद बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार तीनवटा मोटरसाइकललाई नियन्त्रणमा लिनुका साथै २२ बुङ तास र १४ वटा मोबाइलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी मिश्रले दिए ।



















