
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मा रहेको पोखरीमा माछा मरेको अवस्थामा फेला परेपछि विष हालिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
धर्मदेव साहको करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको पोखरीमा पालिएका माछा मर्न थालेको सूचना बुधबार बिहान करिब ९ः२० बजेतिर प्रहरीले प्राप्त गरेको थियो । त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
उक्त पोखरी विराटनगर महानगरपालिका–१४ का सुशील यादव, दिना यादव, अनमोल यादव र रामचन्द्र यादवले भाडामा लिएर व्यावसायिक माछापालन गर्दै आएका थिए । प्रहरीका अनुसार पोखरीमा रहेका करिब ३० किलो माछा मरेको अवस्थामा फेला परेका छन् । माछा एक्कासि मरेको घटनापछि पोखरीमा कसैले विषादी वा अन्य कुनै विषाक्त पदार्थ हालेको हुन सक्ने आशंका गरिएको छ ।
घटनाको वास्तविक कारण खुल्न नसकेकाले आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माछा मर्नुको कारण पत्ता लगाउन पोखरीको पानी तथा अन्य पक्षका बारेमा समेत अध्ययन भइरहेको छ ।


























