मोरङलाई बालश्रममुक्त बनाउने सामूहिक संकल्प : सरोकारवालाद्वारा कठोर प्रतिबद्धता, शिक्षा र संरक्षणमा जोड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार ११:३४

विराटनगर । विश्व बालश्रमविरुद्धको दिवसको अवसर पारेर मोरङ जिल्लालाई बालश्रममुक्त बनाउने सार्वजनिक प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गरेका छन् । बालबालिकाको शिक्षादेखि संरक्षणसम्ममा जोड दिँदै कठोर प्रतिबद्धता जनाएर सरोकारवालाहरुले मोरङलाई बालश्रममुक्त बनाउने सामूहिक संकल्प गरेका हुन् ।

बालश्रमविरुद्धको अभियानलाई थप सशक्त बनाउँदै जिल्लालाई बालश्रममुक्त बनाउने सामूहिक प्रतिबद्धता गरिएको हो । राज्य, निजी क्षेत्र र समुदायको निरन्तर सहकार्य, समन्वय र निगरानीले मात्रै समाजलाई बालश्रममुक्त बनाउन सकिने सरोकारवालाको धारणा छ ।

Advertisement

‘सबै मिलेर बालश्रमविरुद्ध लागौं’ भन्ने साझा आह्वानसहित आयोजित कार्यक्रममा बालश्रम समाजको गम्भीर समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि राज्य, निजी क्षेत्र, सुरक्षा निकाय र समुदाय सबैको संयुक्त प्रयास अपरिहार्य रहेको निष्कर्ष निकालिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा शुक्रबार बिहान विराटनगरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले बालबालिकालाई श्रममा लगाउने प्रवृत्ति कानुन र अन्तर्राष्ट्रिय महासन्धिविपरीत रहेको भन्दै तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनीहरूले बालश्रमलाई सामाजिक समस्या मात्र नभई बालअधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै यसको अन्त्य बिना समुन्नत समाज निर्माण सम्भव नहुने धारणा व्यक्त गरे । कार्यक्रममा बोल्दै विराट होटल व्यवसायी संघ मोरङका वरिष्ठ उपाध्यक्ष खिलकुमार सुवेदीले व्यवसायिक क्षेत्रमा बालश्रम प्रयोग नगर्ने स्पष्ट प्रतिबद्धता जनाए ।

उनले कुनै पनि होटल तथा व्यवसायमा बालबालिकालाई श्रममा लगाइएको पाइए कडा कारबाही हुनुपर्ने माग गर्दै व्यावसायिक क्षेत्रले जिम्मेवारीपूर्वक आचरण अपनाउनुपर्नेमा जोड दिए । सुवेदीले भने, ‘होटल व्यवसाय क्षेत्रमा बालबालिकालाई श्रममा लगाउँदैनौं । यदि कसैले बालश्रम प्रयोग गरेको पाइयो भने कानुनअनुसार कारबाही अनिवार्य हुनुपर्छ ।’

त्यस्तै, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बालबालिकाको भविष्य सुरक्षित बनाउन उनीहरूलाई श्रममा नभएर शिक्षा र स्वास्थ्य प्रदान गर्दै सुरक्षित वातावरणमा राख्नुपर्ने आवश्यकता औँल्याए । उनले बालश्रमविरुद्धको अभियानलाई कानुनी कारबाहीमा सीमित नराखी सामाजिक चेतनासँग जोडेर अघि बढाउनुपर्ने बताए । उनका अनुसार बालश्रम रोक्न सबै नागरिकको सक्रिय सहभागिता आवश्यक छ ।

एसपी कटवालले कोही कसैले बालबालिकालाई श्रममा लगाएको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै त्यस्ता घटनाबारे सूचना दिन सबै नागरिकलाई आग्रह गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय मोरङअन्तर्गत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत बालअधिकार संरक्षणलाई प्राथमिकतामा राखेर सेवा प्रवाह भइरहेको जानकारी दिँदै आवश्यक उद्धार र संरक्षणलाई निरन्तरता दिइएको बताए ।

उनले आफ्नो विगतको अनुभव साझा गर्दै सोलुखुम्बुमा प्रहरी प्रमुख हुँदा यातना दिँदै बालश्रममा प्रयोग गरिएकी एक बालिकाको उद्धार गरिएको घटनालाई स्मरण गरे । उक्त अनुभवले बालश्रमविरुद्धको अभियान अझ प्रभावकारी बनाउन प्रेरणा दिएको एसपी कटवालको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बालबालिकामाथि हुने श्रम शोषण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे । उनले विश्वभर करिब १३ देखि १४ करोड बालबालिका कुनै न कुनै रूपमा बालश्रममा संलग्न रहेको तथ्य प्रस्तुत गर्दै यो समस्या विश्वव्यापी भएको बताए । उनका अनुसार कानुनी व्यवस्था रहे पनि व्यवहारमा यसको पूर्ण पालना हुन नसक्नुले बालश्रमको समस्यालाई जटिल बनाएको छ ।

कोइरालाले बालश्रम नियन्त्रण राज्य वा प्रहरी प्रशासनको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै सबै पक्षबीच समन्वय र सहकार्य अनिवार्य भएको बताए । उनले बालबालिकालाई श्रममा लगाउनुको सट्टा उनीहरूको शिक्षा, स्वास्थ्य र समुचित हेरचाहमा ध्यान दिनु समाजको दायित्व भएको उल्लेख गरे । मोरङलाई बालश्रममुक्त जिल्ला बनाउने दिशामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै सरोकारवालालाई सामूहिक संकल्प गर्न आह्वान गरे ।

कार्यक्रममा होटल तथा पेय पदार्थ व्यवसायी संघ तथा रात्रिकालीन होटल व्यवसाय समन्वय समितिका मोरङ अध्यक्ष सुरज श्रेष्ठ, मोरङ प्रहरीका डीएसपीहरु मकेन्द्रकुमार मिश्र, सन्तोष श्रेष्ठ, मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपाने, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टरहरू बद्री दाहाल र प्रमिला कार्कीसहित विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

विश्व बालश्रमविरुद्धको दिवस प्रत्येक वर्ष जुन १२ तारिखका दिन विश्वभर मनाइन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को पहलमा सुरु भएको यो दिवसले बालश्रमको अवस्थाप्रति विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्य राख्छ । यस दिवसको मुख्य उद्देश्य बालश्रमको अन्त्य, बालअधिकारको संरक्षण, शिक्षा र सुरक्षित बाल्यकालको सुनिश्चितता हो ।

बालश्रमको अर्थ बालबालिकालाई उनीहरूको उमेर, शारीरिक अवस्था र मानसिक विकास अनुकूल नभएका काममा लगाउनु हो । जसले उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र विकासमा नकारात्मक असर पार्छ । विशेषगरी गरिबी, चेतनाको कमी, सामाजिक असमानता र कानुनको कमजोर कार्यान्वयनका कारण बालश्रम अझै पनि विश्वका धेरै देशहरूमा चुनौतीका रूपमा रहेको छ ।

यस दिवसले समाजलाई बालअधिकारप्रति जिम्मेवार बनाउन दबाब सिर्जना गर्छ । बालबालिका कुनै पनि राष्ट्रका भविष्य हुन् भन्ने मान्यतालाई व्यवहारमा उतार्न शिक्षा, संरक्षण र अवसरको समान पहुँच सुनिश्चित गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । बालश्रम अन्त्य गर्न सके मात्रै दीर्घकालीन रूपमा दिगो विकास, सामाजिक न्याय र मानव अधिकारको सम्मान सम्भव हुने सरोकारवालाहरूको साझा धारणा छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.