नेपाल–भारत संयुक्त सीमा गस्ती, दशगजा क्षेत्रमा चियाका बोट हटाइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १३:१८

झापा । झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमाक्षेत्रमा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले संयुक्त सीमा गस्ती गरेका छन् ।

शुक्रबार करिब १०ः३० बजेतिर नेपालतर्फका सुरक्षा निकाय र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सहभागितामा संयुक्त सीमा गस्ती गरिएको हो । गस्तीमा झापाको पाठामारीस्थित प्रहरी चौकी, बीओपी पाठामारी तथा भारतको किशनगञ्ज जिल्लास्थित एसएसबीका सुरक्षाकर्मीहरू सहभागी थिए ।

संयुक्त गस्तीका क्रममा नेपाल–भारत सीमामा रहेको सीमा स्तम्भ नम्बर ११४ आसपासको क्षेत्रको निरीक्षण गरिएको थियो । सो क्रममा दशगजा क्षेत्रमा फैलिएका सुनकोशी चिया बगानका करिब ६० देखि ६५ वटा चियाका बोट हटाइएको छ ।

सीमाक्षेत्रको सुरक्षा, सीमा अतिक्रमण रोकथाम तथा दशगजना क्षेत्रलाई खाली र व्यवस्थित राख्ने उद्देश्यले चियाका बोट हटाइएको झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर विजय चौहानले बताए । उनका अनुसार नेपाल र भारतका सुरक्षा निकायबीच नियमित रूपमा हुने संयुक्त गस्तीले सीमाक्षेत्रमा शान्ति, सुरक्षा र आपसी समन्वय कायम राख्न सहयोग पुग्ने छ । सुरक्षा अधिकारीहरुले सीमा स्तम्भ र दशगजा क्षेत्रको संरक्षणका लागि संयुक्त गतिविधिलाई निरन्तरता दिइने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.