
विराटनगर । मोरङको केराबारी गाउँपालिकामा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत वृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
‘जीवन रोजौँ, लागुऔषध त्यागौँ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा लागुऔषधको बढ्दो प्रयोग रोक्न समुदाय, स्थानीय सरकार, अभिभावक र सुरक्षाकर्मीबीचको सहकार्यलाई जोड दिइएको थियो । मोरङ प्रहरीले लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरिरहेको छ । महाअभियानअन्तर्गत नै केराबारीमा पनि शुक्रबार कार्यक्रम गरिएको हो ।
केराबारी गाउँपालिकाको सहयोग तथा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर रहेका थिए । कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला विशेष अतिथि थिए । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण प्रहरी वरिष्ठ नायव निरीक्षक देवेन्द्र सुवेदीले गरेका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीका अनुसार कार्यक्रमका क्रममा नेपाल प्रहरीको टोलीले लागुऔषध दुर्व्यसनविरुद्ध सन्देश प्रवाह गर्ने जनचेतनामूलक गीत तथा नृत्य प्रस्तुति दिएको थियो । आकर्षक सांस्कृतिक प्रस्तुतिमार्फत लागुऔषध सेवनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे सहभागीलाई जानकारी गराइएको उनको भनाइ छ । विशेषगरी युवापुस्तालाई कुलतबाट टाढा रहँदै अनुशासित, सिर्जनशील र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले प्रस्तुत गरिएको नृत्य दर्शकहरूको विशेष आकर्षण बनेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मिरिङचिङले लागुऔषध दुर्व्यसन आजको समाजका लागि गम्भीर चुनौतीका रूपमा देखा परेको बताए । उनले यसको नियन्त्रण प्रहरीको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै स्थानीय तह, अभिभावक, शैक्षिक संस्था, सामाजिक संघ संस्था तथा समुदाय सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखे ।
उनले युवाहरूलाई सचेत, जिम्मेवार र अनुशासित नागरिक बन्न आग्रह गर्दै यस्ता जनचेतनामूलक अभियानले समाजमा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । समाजलाई कुलतमुक्त बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा मिरिङचिङले जोड दिए ।
समुदायमा बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण गर्दै नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानलाई तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । अभियानमार्फत विशेषगरी किशोरकिशोरी र युवाहरूलाई लागुऔषध सेवनका जोखिम, त्यसले निम्त्याउने सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी गराउँदै सुरक्षित, सभ्य र जिम्मेवार समाज निर्माणका लागि प्रेरित गर्ने प्रयास गरिएको उनको भनाइ छ ।
महाअभियानले लागुऔषधविरुद्धको लडाइँमा समुदायको सहभागिता बढाउनुका साथै युवालाई सही बाटोमा अघि बढ्न उत्प्रेरित गर्ने उनले बताए । स्थानीयको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा लागुऔषधमुक्त समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने सन्देश प्रवाह गरिएको जानकारी एसपी कटवालले दिए ।



















