धनकुटामा सफा गर्ने क्रममा भरुवा बन्दुक पड्कियो, पुरुषको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३०, शनिबार १०:५१

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा सफा गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय रामकृष्ण थापा रहेका छन् । शुक्रबार घरमा राखिएको एकनाले भरुवा बन्दुक सफा गर्ने क्रममा अचानक पड्किएपछि उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

प्रहरीका अनुसार थापाले बन्दुकको नाल सफा गर्न बारुद लोड भएको अवस्थामा नाललाई आगोमा तताएका थिए । त्यसपछि मुखले फुकेर नाल सफा गर्ने प्रयास गर्दा बन्दुक अचानक पड्किएको थियो । बन्दुकबाट निस्किएको बारुद उनको मुखमा लागेर उनी गम्भीर घाइते भएका थिए ।

घटनापछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको थियो । उपचारकै क्रममा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले घटनास्थल पुगेर एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त बन्दुक बाँदर धपाउनका लागि घरमा राखिएको हुन सक्ने देखिएको धनकुटा प्रहरीका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए ।

इन्स्पेक्टर राजवंशीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.