
इलाम । भारतीय बजारमा नेपाली चियाको निर्यात रोकिएपछि इलामको सूर्योदय नगरपालिकास्थित अर्थोडक्स चिया उद्योगहरू गम्भीर संकटमा परेका छन् ।
भारतले नेपाली चियाको आयातमा नयाँ प्राविधिक व्यवस्था लागू गरेपछि उत्पादित चिया बिक्री हुन नसकेको भन्दै सूर्योदय क्षेत्रका ५३ वटा उद्योगले असार १ गतेदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार भारततर्फ पठाइएको तीन लाख किलोभन्दा बढी तयारी चिया गुणस्तर परीक्षणको प्रक्रियामा अलपत्र परेको छ ।
त्यति मात्र नभएर उद्योगहरूमा थप सात लाख किलोभन्दा बढी तयारी चिया बिक्री नभई गोदाममै थन्किएको छ । भण्डारण क्षमता पूर्ण रूपमा भरिएपछि उद्योग सञ्चालन असम्भव बन्दै गएको उद्योगीहरूको भनाइ छ ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार किसानबाट खरिद गरिएको हरियो चियापत्ती प्रशोधन गरेर तयारी चिया उत्पादन गरिए पनि बजारमा बिक्री हुन सकेको छैन । गोदाम भरिएपछि नयाँ उत्पादन राख्ने ठाउँसमेत नभएको र किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उनले बताए ।
भारतले २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेपछि समस्या सुरु भएको हो । नयाँ व्यवस्थाअनुसार नेपालबाट भारत पुगेको प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्नेछ । परीक्षण प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने र नतिजा प्राप्त नभएसम्म चिया बिक्री गर्न नपाइने प्रावधान छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा नेपाल फिर्ता ल्याउनुपर्ने बाध्यता पनि छ ।
चिया उद्योगी गोपाल कट्टेलले भारतले विभिन्न प्राविधिक जटिलता सिर्जना गरेर नेपाली चियाको प्रवेशमा अवरोध खडा गरेको आरोप लगाए । उत्पादन भइसकेको चिया बजारसम्म पुर्याउने बाटो बन्दजस्तै बनेको भन्दै उनले संघीय सरकारले तत्काल कूटनीतिक पहल गरेर समस्या समाधान गर्नुपर्ने माग गरे । समयमै पहल नभए नेपाली चियाले वर्षौंदेखि बनाएको अर्बौँ रुपैयाँ बराबरको बजार गुम्ने खतरा रहेको उनको भनाइ छ ।
उद्योग बन्द हुने निर्णयले सूर्योदय क्षेत्रका हजारौँ किसान प्रत्यक्ष प्रभावित हुने भएका छन् । एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा मात्रै दुई हजार ९९५ जना चिया किसान आबद्ध छन् । वार्षिक करिब दुई करोड किलोभन्दा बढी हरियो चियापत्ती उत्पादन हुँदै आएको सूर्योदयमा ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती गरिँदै आएको छ ।
उद्योग बन्द हुँदा किसानको मुख्य आम्दानीको स्रोत नै बन्द हुने चिन्ता बढेको छ । किसान राजन भट्टराई भन्छन्, ‘उद्योग बन्द भयो भने हाम्रो हरियोपत्ती बिक्री हुँदैन । परिवार चलाउने आधार नै हराउने अवस्था आउँछ । अब कसरी बाँच्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’
सूर्योदय नगरपालिकाले पनि नेपाली चियामाथिको भारतीय अवरोध हटाउन तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न संघीय सरकारसँग माग गरेको छ । नगरपालिकाका अनुसार भारतको कोलकातास्थित गोदाममा पुगेका नेपाली चियाका खेपमाथि भारतीय चिया बोर्डले आयातकर्ताकै गोदाममा पुगेर प्रत्येक बोराबाट नमुना संकलन गरी परीक्षण थालेको छ । आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना लिइएको एक साताभन्दा बढी समय बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएको बताइएको छ । प्रतिवेदन नआउँदासम्म बिक्री–वितरण पूर्ण रूपमा रोकिएको छ ।
सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले झन्झटिलो प्रक्रियाका कारण गोदाममा लामो समयसम्म थन्किएको नेपाली चियाको गुणस्तर घट्ने तथा बिग्रिने जोखिम बढेको बताए । उनले नेपाली चिया उद्योग र किसानको भविष्य जोगाउन नेपाल सरकारले भारतसँग उच्च तहमा वार्ता गरी अवरोध हटाउन पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट प्रत्येक वर्ष ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुने गरेको छ । त्यसमध्ये ९० प्रतिशतभन्दा बढी चिया भारतीय बजारमा खपत हुन्छ । नेपालले वार्षिक सवा चार अर्ब रुपैयाँभन्दा बढी मूल्यको तयारी चिया निर्यात गर्दै आएको छ । इलाम, पाँचथर र धनकुटा अर्थोडक्स चिया उत्पादनका प्रमुख जिल्ला हुन् ।
भारतीय बजारमा निर्भर रहेको नेपाली चिया क्षेत्र अहिले निर्यात अवरोधका कारण अभूतपूर्व संकटमा परेको छ । समस्या शीघ्र समाधान नभए उद्योगी, किसान र चिया व्यवसायसँग जोडिएका हजारौँ श्रमिकको जीविकामाथि गम्भीर असर पर्ने देखिन्छ ।



















