परराष्ट्रमन्त्रीको चीन भ्रमण सुरु हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार ०७:३९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण आज (आइतबार)देखि सुरु हुँदैछ । चारदिने औपचारिक भ्रमणका लागि उनी चीन प्रस्थान गर्नेछन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमण असार ३ गतेसम्म चल्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विविध विषयमा छलफल हुने जनाइएको छ ।

Advertisement

मन्त्री खनालले भ्रमणका क्रममा चीनका उच्चस्तरीय सरकारी तथा राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी प्रवर्धन कार्यक्रममा सहभागी भई चिनियाँ व्यवसायीसँग अन्तरक्रिया गर्नेछन् ।

मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुँदै उनले नेपालीहरूसँग संवाद गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते स्वदेश फर्कनेछन् । नेपाल र चीनबीचको कूटनीतिक तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य रहेको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.