
विराटनगर । विराटनगरको एउटा होटलमा बसेका एक जना भारतीय युवकको मृत्यु भएको छ ।
भारत बिहार सहरसाका २४ वर्षीय प्रिन्स कुमारको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार प्रिन्स विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा कोठा लिएर बसेका थिए ।
भाडामा लिएको कोठामा शनिबार राति ११ बजेतिर उनी अचानक बिरामी भए । तत्काल उपचारका लागि न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी लोकेन्द्रसिंह गुरु र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोली खटिएका थिए । प्रिन्सको मृत्युको कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























