दुर्घटनामा नेविसंघ नेताको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार ०६:३७

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वकेन्द्रीय सदस्य राजीव बाँस्तोलाको पोखरामा सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

प्रहरीका अनुार आइतबार साँझ पोखरा–८ स्थित सृजनाचोक र सभागृहचोकबीचको सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका बाँस्तोलालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । कास्की जिल्ला सहकारी संघद्वारा आयोजित तालिममा सहभागी भएर फर्किने क्रममा बाँस्तोला सवार मोटरसाइकललाई बा प्र ०३–००१–क १६५० नम्बरको रेडिमिक्स गाडीले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्करपछि बाँस्तोला गम्भीर घाइते भएका थिए । उनलाई मेट्रोसिटी अस्पताल ल्याउँदासम्म मृत्यु भइसकेको थियो । टाउकोमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।

बाँस्तोलाको शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । दुर्घटनामा संलग्न गाडी र चालक मकवानपुर हेटौँडाका ४० वर्षीय राजन अधिकारीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.