
विराटनगर । युवा विद्यार्थीहरूलाई सीप, करिअर र उद्योगसँग जोड्ने उद्देश्यका साथ विराटनगरमा आयोजित ‘सीप उत्सव २०८३’ सम्पन्न भएको छ ।
उद्योग संगठन मोरङले ‘सीपका लागि उद्योग, करिअरका लागि भविष्य’ भन्ने मूल नाराका साथ सीप उत्सव आयोजना गरेको हो । यस उत्सवमा झापा, मोरङ र सुनसरीका २५ विद्यालय तथा प्राविधिक शिक्षालयका १ हजारभन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । उत्सवलाई विद्यार्थीहरूको ‘करिअर यात्रा’ का रूपमा चित्रण गरिएको थियो, जहाँ सहभागीहरूले आफ्नो रुचि, क्षमता, सम्भावित करिअर र उद्योगसँगको सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर पाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले सीपयुक्त जनशक्ति निर्माण नै आजको प्रमुख आवश्यकता भएको बताए । उनले उद्योग र शिक्षा क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै युवाहरूलाई रोजगारी खोज्ने मात्र नभई अवसर सिर्जना गर्ने (उद्यमी) बन्न प्रेरित गरे । यस्ता कार्यक्रमले प्रदेशको उद्यमशीलता विकासमा ठोस टेवा पुर्याउने उनको विश्वास थियो ।
त्यस अवसरमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा खड्किएको दक्ष जनशक्तिको अभाव र शैक्षिक संस्थाहरूले उत्पादन गर्ने जनशक्तिको सीपबीच रहेको खाडल कम गर्न संगठनले अप्रेन्टिसिप र सीप उत्सव जस्ता अभियानहरू निरन्तर सञ्चालन गरिरहेको बताए । उनले विद्यार्थीहरूलाई उद्योगको वास्तविक वातावरण र सीप विकासका अवसरहरूसँग जोड्न यो कार्यक्रम सफल भएको उल्लेख गर्दै दक्ष जनशक्ति विकासमा निजी क्षेत्रको सक्रियता अनिवार्य रहेको धारणा राखे ।
उद्योग संगठन मोरङका कार्य समिति सदस्य एवं मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालका अनुसार उत्सवमा सञ्चालित १० वटा सिकाइ तथा अनुभवात्मक जोनहरूले विद्यार्थीहरूलाई करिअर परीक्षण, परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन र नवप्रवर्तनसँग जोड्ने काम गरेको छ । यसबाट विद्यार्थीहरूमा सीपमूलक शिक्षा र करिअरप्रति सकारात्मक सोच विकास भएको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले दक्ष जनशक्ति उत्पादनका लागि सरोकारवाला सबैको हातेमालो आवश्यक रहेको बताए । त्यसैगरी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले सीप उत्सवले विद्यार्थीहरूलाई सीपदेखि करिअरसम्मको यात्रालाई व्यावहारिक रूपमा अनुभव गराएको उल्लेख गरे । मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले विद्यार्थीहरूलाई आफ्नो भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन र स्थानीय अवसरहरूको पहिचान गर्न यो उत्सव सहयोगी सिद्ध भएको बताए ।
त्यस्तै, उत्सवका क्रममा आयोजित विभिन्न सीप प्रतिस्पर्धाहरूमध्ये तीन विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई ‘स्किल आइकन २०८३’ बाट पुरस्कृत गरिएको छ । अटोमोबाइल क्षेत्रतर्फ हात्तिमुढाको मनमोहन स्मृति पोलिटेक्निका मोहम्मद जेसन अन्सारी, होटेल म्यानेजमेन्ट क्षेत्रतर्फ इटहरीको नरबहादुर कर्माचार्य बहु प्राविधिक शिक्षालयकी आकृति पौडेल र सूचना प्रविधि क्षेत्रतर्फ झापाको कनकाई पोलिटेक्निकका मनिष घिमिरे विजयी भए । उनीहरूलाई मन्त्री महतो र संगठनका अध्यक्ष राठीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
उत्सवमा कोशी प्रदेशका विभिन्न प्राविधिक शिक्षालय, निजी क्षेत्रका संघ–संस्था, विकास साझेदारहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको ठुलो संख्यामा उपस्थिति रहेको आयोजकले जनाएको छ ।



















