
विराटनगर । नयाँ आर्थिक वर्ष २०८३–८४ का लागि कोशी प्रदेशको बजेट आज सार्वजनिक हुँदैछ । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् । कोशीको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेश गर्नेछन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार यो वर्ष बजेटको आकार बढ्ने छ । मन्त्रालय स्रोतका अनुसार यो वर्षको बजेट ४० अर्ब हाराहारी हुनेछ ।
संघबाट आउने अनुदान साढे १६ अर्ब, राजस्व बाँडफाँटबाट १३ अर्ब र आन्तरिक आम्दानी र संचित कोषमा जम्मा भएको रकमलाई आधार मानेर आकार बढाउन लागिएको हो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर मध्यवधी समिक्षा मार्फत बजेट अनुमान ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।
यो वर्ष प्रदेश सांसदहरुले आफ्नो क्षेत्रमा पाउने बजेटको आकार पनि बढेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदका लगि २ करोड ५० लाखका दरले योजना समावेश गरेको छ । सरकारले करिब ५ अर्ब बराबरका नयाँ बहुवर्षीय आयोजना थप पनि गरेको छ ।

























