भियतनामी भिक्षुको टोली नेपालमा, ‘अलोका’ कुकुर बन्यो आकर्षणको केन्द्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १७:४२
भियतनामी भिक्षुको टोली नेपालमा, ‘अलोका’ कुकुर बन्यो आकर्षणको केन्द्र

काठमाडौं । विश्वभर शान्ति, नैतिकता र आन्तरिक सचेतनाको सन्देश फैलाउने उद्देश्यका साथ हजारौँ माइलको पैदल यात्रा गरिरहेको भियतनामी बौद्ध भिक्षुहरूको एक टोली सोमबार नेपाल आइपुगेको छ । भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको यस टोलीले काठमाडौं आइपुग्दा विशेष चर्चा र चासो बटुलेको छ ।

यस पदयात्राको अर्को मुख्य आकर्षण अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा चिनिएको ‘अलोका’ नामक कुकुर रहेको छ । टोलीसँगै यात्रा गरिरहेको अलोकालाई शान्ति र सहअस्तित्वको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । मानिस र प्रकृतिबिचको सम्बन्ध तथा जीवप्रतिको करुणाको सन्देश प्रवाह गर्न अलोकाको उपस्थिति प्रभावकारी देखिएको टोलीको विश्वास छ ।

Advertisement

यो टोलीले यसअघि भारतमा करिब ३ हजार ४ सय किलोमिटर र अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म झन्डै ३ हजार ७ सय किलोमिटरको दूरी खाली खुट्टा पार गरिसकेको छ । युद्ध, हिंसा र विभाजनले आक्रान्त विश्व समाजमा मानवीय सहअस्तित्व, ध्यान र करुणाको आवश्यकता बोध गराउनु यो कठिन यात्राको मुख्य लक्ष्य रहेको छ ।

काठमाडौं बसाइका क्रममा टोलीले बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र बौद्धनाथ स्तूप र स्वयम्भूनाथ स्तूपको दर्शन गर्ने कार्यक्रम छ ।  साथै, टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्य तालिका समेत रहेको बताइएको छ ।

यात्राका क्रममा भन्ते पन्ना काराले बुद्धका शिक्षा र ध्यानका माध्यमबाट मानिसले वास्तविक शान्ति बाहिर नभई आफ्नै अन्तर मनमा खोज्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘नेपाल बुद्धको जन्मभूमि भएकाले यहाँबाट उठ्ने शान्तिको आवाजले विश्व समुदायमा अझ गहिरो र अर्थपूर्ण प्रभाव पार्न सक्छ ।

भौगोलिक दूरी मात्र नभई मानिसको मनलाई करुणा र आत्म चेतनातर्फ जोड्ने यो अभियानले नेपालबाट विश्वभर सकारात्मक ऊर्जा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.