‘जातिरी र सिरिजात’को अवसरमा बेलबारीमा सार्वजनिक बिदा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १९:४६
धिमाल समुदायको पर्व ‘जातिरी र सिरिजात’को अवसरमा बेलबारीमा सार्वजनिक बिदा

विराटनगर । मोरङको बेलबारी नगरपालिकाले धिमाल समुदायको महान् पर्व ‘जातिरी तथा सिरिजात’को अवसरमा असार २ गते मंगलबार नगरभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको असार १ गते बसेको बैठकले बेलबारीको ‘प्रथम जाति’का रूपमा रहेका धिमालहरूको महत्वपूर्ण पर्वका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ, ‘जातिरी र सिरिजातका अवसरमा एकता, आपसी सहिष्णुता, भ्रातृत्व तथा मौलिक संस्कृतिको जगेर्ना गरी राष्ट्र निर्माणमा योगदान पुऱ्याउन शक्ति मिलोस् भन्ने शुभेच्छासहित असार २ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।’

Advertisement

बिदाको दिन बेलबारी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, मातहतका सम्पूर्ण कार्यालयहरू तथा नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने छन् । यद्यपि, स्वास्थ्य सेवा जस्ता अत्यावश्यक सेवाहरू भने सुचारु रहने नगरपालिकाले जनाएको छ ।

धिमाल समुदायले विशेष गरी पूर्वी नेपालका तराईका जिल्लाहरूमा प्रकृति पूजाको रूपमा जातिरी र सिरिजात पर्व भव्यताका साथ मनाउने गर्दछन् । बेलबारी नगरपालिकाले यस पर्वलाई स्थानीय सांस्कृतिक गौरवको रूपमा लिँदै हरेक वर्ष बिदा दिने र उत्सव मनाउने कार्यमा सहयोग गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.