एजेन्ट सम्पर्कविहीन भएपछि नेपालबाट फर्किदै गरेका बंगलादेशी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार ०७:३२

झापा । नेपाल–भारत सीमाक्षेत्र हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक बंगलादेशी नागरिक झापाको पूर्वी सीमानजिक भारतीय भूमिबाट पक्राउ परेका छन् । पछिल्ला केही दिनयता सीमाक्षेत्रमा बंगलादेशी नागरिक पक्राउ पर्ने घटना दोहोरिन थालेपछि सुरक्षा निकायको ध्यान सीमा सुरक्षातर्फ केन्द्रित भएको छ ।

भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपालबाट भारततर्फ अवैध रूपमा जान खोजिरहेका बंगलादेशका ३८ वर्षीय नन्दन दासलाई नियन्त्रणमा लिएको जनाएको छ । उनी बंगलादेशको मदारीपुर जिल्लास्थित उमेदपुर गाउँका बासिन्दा हुन् ।

Advertisement

एसएसबीको ४१औँ बटालियनअन्तर्गतको बोर्डर इन्टेलिजेन्स टिम (बीआईटी)ले पानीट्यांकीस्थित पुरानो मेची पुलमा नियमित जाँचका क्रममा उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सुरक्षा जाँचका क्रममा दासको साथबाट बंगलादेशी राहदानी, बंगलादेशबाट नेपाल आउँदाको हवाई टिकट, दुईवटा बंगलादेशी सिमकार्ड र एउटा नेपाली सिमकार्ड प्रयोग भएको मोबाइल फोन तथा भारतीय मुद्रा दुई हजार पाँच सय ८० रुपैयाँ बरामद भएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनले आफू सन् २०२६ फेब्रुअरीमा रोजगारीका लागि युरोपको सर्बिया जाने उद्देश्यले नेपाल आएको बताएका छन् । एक एजेन्टले सर्बियामा काम मिलाइदिने आश्वासन दिएपछि पाँच लाख रुपैयाँसम्म खर्च गरेर नेपाल आएको तर यहाँ आइपुगेपछि उक्त एजेन्ट सम्पर्कविहीन भएको उनको भनाइ छ ।

रोजगारीको आशा निराशामा परिणत भएपछि उनी केही समयदेखि पोखरामा मजदुरी गरेर बस्दै आएका थिए । करिब दुई महिना काम गरेपछि स्वदेश फर्किने योजना बनाएका दास भारतको बाटो हुँदै बंगलादेश जान सीमाक्षेत्र पुगेका थिए । सोही क्रममा भारतीय सुरक्षा निकायको नियन्त्रणमा परेका हुन् ।

यसअघि पनि झापाको पूर्वी सीमाबाट एक बंगलादेशी नागरिक पक्राउ परेका थिए । जेठ ३० गते मेचीनगर नगरपालिका–६ स्थित गैरीगाउँमा भारतको पानीट्यांकीबाट मेची खोलाको बाटो प्रयोग गरी अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोज्दा उनलाई नियन्त्रणमा लिइएको थियो ।

छोटो समयमै सीमाक्षेत्रमा बंगलादेशी नागरिक पक्राउ पर्ने घटना पुनः दोहोरिएपछि वैदेशिक रोजगारीका नाममा हुने अन्तरदेशीय ठगी, मानव तस्करी र अवैध आवतजावतका विषय पुनः चर्चामा आएका छन् । सुरक्षा निकायले नेपाल–भारत सीमामा निगरानी थप प्रभावकारी बनाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.