महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार १४:००

काठमाडौं । राहदानी छपाइ तथा खरिद प्रक्रियामा अनियमितता भएको आशंकापछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

अख्तियार स्रोतका अनुसार आयोगको टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएको हो । उनीसँग राहदानी आपूर्ति तथा खरिद प्रक्रियासम्बन्धी विभिन्न विषयमा बयान लिने र थप सोधपुछ गर्ने काम भइरहेको बताइएको छ ।

Advertisement

यसअघि सोमबार साँझ नै अख्तियारको टोली विभाग पुगेको थियो । टोलीले राहदानी खरिद र छपाइसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएर अध्ययन थालेको स्रोतको दाबी छ । अनुसन्धानको क्रममा विभागभित्र भएका निर्णय, टेन्डर प्रक्रिया तथा सम्झौतासम्बन्धी फाइलहरू समेत संकलन गरिएको जनाइएको छ ।

स्रोतका अनुसार महानिर्देशक अर्याल सोमबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यसलगत्तै अख्तियारले उनीमाथि निगरानी बढाएको र अनुसन्धान प्रक्रिया तीव्र बनाएको बताइएको छ ।

राहदानी छपाइसँग जोडिएको यस प्रकरणमा अख्तियारले व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएको छ । उनी राहदानी छपाइ प्रक्रियामा संलग्न कम्पनी ‘भेरिडोस’सँग सम्बन्धित व्यवसायी हुन् ।

अनुसन्धानको दायरा विभागका अन्य उच्च अधिकारीसम्म पनि पुगेको छ । विभागका प्रशासन तथा व्यवस्थापन शाखा प्रमुख एवं प्रवक्ता सोमेश थापा तथा सूचना प्रविधि शाखाका निर्देशक सुनीलकुमार केसीलाई समेत अख्तियारले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको स्रोतले जनाएको छ ।

हाल विभागमा पुरानो राहदानी छपाइ सम्झौताको अवधि समाप्त भएपछि जर्मनीका दुई कम्पनीले नयाँ राहदानी छपाइको ठेक्का पाएका छन् । यही ठेक्का प्रक्रिया, मूल्य निर्धारण, प्राविधिक मूल्यांकन तथा खरिद निर्णयसँग सम्बन्धित विषयमा अनियमितता भएको उजुरी परेपछि अख्तियार सक्रिय भएको हो ।

राहदानी जस्तो राष्ट्रिय सुरक्षा र नागरिक पहिचानसँग प्रत्यक्ष जोडिएको संवेदनशील कागजातको खरिद प्रक्रियामा मिलेमतो, आर्थिक चलखेल तथा पदको दुरुपयोग भएको हुन सक्ने आशंकामा आयोगले विशेष अनुसन्धान टोली परिचालन गरेको छ । आयोगले सम्बन्धित अधिकारीहरू, व्यवसायी र निर्णय प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
चुनावी परिणामको समीक्षा र सुदृढीकरणका लागि एमालेको विशेष भेला
विराटनगर प्रदेशसभा भवन परिसरको पिपलको रुख ढल्यो, केहीबेर सडक अवरुद्ध (फोटो फिचर)
महानिर्देशकसहित चार जना अनुसन्धानको घेरामा
कारागारभित्र दुई कैदीको हत्या गर्ने सात प्रहरीसहित १५ जनालाई जन्मकैद
बहुअपांगता बालकलाई आर्थिक सहयोग
कोशी लोकमार्गमा एकाबिहानै दुर्घटना, एक जनाको मृत्यु
चेक अनादार प्रकरणमा पक्राउ परेका सेफ सन्तोष साह रकम बुझाएपछि छुटे
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
न्युजिल्यान्डले अग्रता जोगाउन नसक्दा इरानसँग बराबरी
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह 
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.