
अमेरिका । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलमाथि ३–१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
अमेरिकाको न्यू जर्सीस्थित रंगशालामा बुधबार बिहानका राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले सुरुआती समयमा केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा पहिलो हाफ बराबरीमै टुंगिएको थियो । दोस्रो हाफ सुरु भएपछि फ्रान्सले खेलमा आफ्नो पकड बलियो बनायो ।
खेलको ६६औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि फ्रान्सले निरन्तर दबाब सिर्जना गर्दै खेललाई आफ्नो पक्षमा राख्न सफल भयो ।
खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले अर्को गोल थपेपछि फ्रान्सको अग्रता दोब्बर बन्यो । २–० ले पछि परेको सेनेगलले खेलमा फर्कने प्रयास जारी राख्यो ।
दोस्रो हाफको अतिरिक्त समयमा इब्राहिम एम्बायेले गोल गर्दै सेनेगलका लागि आशा जगाए । उनको गोलसँगै खेल २–१ को अवस्थामा पुगेको थियो ।
तर, सेनेगलको त्यो आशा धेरैबेर टिक्न सकेन । त्यसको लगत्तै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता फेरि दुई गोलको बनाए । उनको गोलसँगै खेल ३–१ मा पुग्दा फ्रान्सको जित निश्चित भयो ।
बाँकी समयमा थप गोल हुन नसकेपछि फ्रान्सले ३–१ को जित दर्ता गर्यो । एम्बाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले महत्वपूर्ण तीन अंक बटुल्दा सेनेगल भने पहिलो खेलमै हार बेहोर्न बाध्य बन्यो ।

























