अर्जेन्टिना–अल्जेरिया खेलअघि न्यूयोर्कमा समर्थकबीच झडप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार ०६:३२

अमेरिका । फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीच हुने खेलअघि अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायर क्षेत्रमा दुवै टोलीका समर्थकबीच झडप भएको छ ।

प्रहरीका अनुसार म्यानहट्टनको ४६औँ स्ट्रिट र ब्रोडवे आसपास अर्जेन्टिनी र अल्जेरियाली समर्थकका दुई समूहबीच सुरु भएको विवादले उग्र रूप लिएपछि हात हालाहालको अवस्था सिर्जना भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ठूलो संख्यामा भेला भएका समर्थकहरूबीच धक्कामुक्का भएको र त्यसपछि मुक्का हानाहानसम्म पुगेको देखिन्छ ।

Advertisement

झडपका क्रममा भिडको धक्काबाट एक बालक लडेको दृश्य पनि भिडियोमा कैद भएको छ । घटनास्थलमा रहेकी एक महिलाले भीडलाई शान्त हुन आग्रह गर्दै झगडा रोक्ने प्रयास गरेको आवाज भिडियोमा सुनिन्छ । झडपका क्रममा केही पेय पदार्थसमेत भिडतर्फ फ्याँकिएको देखिएको छ ।

यद्यपि, घटनामा कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो । विश्वकपको समूह ‘जे’ अन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीचको खेल नेपाली समयअनुसार बुधबार बिहान ६ः४५ बजे सुरु हुने तालिका रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.