
झापा । झापामा टिपरको ठक्करबाट मंगलबार राति साइकल यात्रीको मृत्यु भएको छ । पाडाजुंगी–गौरीगन्ज भित्री पक्की सडक खण्डअन्तर्गत गौरादह नगरपालिका–१ नवदुर्गा पेट्रोल पम्पअघि राति ८ः२० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डिपु चोकबाट पेट्रोल पम्पतिर जाँदै गरेको प्र १–०१–००१ क ११८८ नम्बरको टिफरको ठक्करबाट साइकल यात्री गौरादह–४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका गुरागाईंलाई उद्धार गरेर उपचारका लागि दमक अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् । प्रहरीले टिपर र चालक गौरादह–१ का ३५ वर्षीय उमेश ताजपुरियालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मादक पदार्थ सेवन (मापसे) गरेर साइकलमा यात्रा गरिरहेका बेला गुरागाईं दुर्घटना परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























