कच्चा तेलको मूल्यमा लगातार गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार ०७:५९

एजेन्सी । अमेरिका–इरानबीच तनाव कम हुने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको छ । पछिल्ला तीन महिनामध्ये मूल्य सबैभन्दा न्यून स्तरमा झरेपछि विश्व ऊर्जा बजारमा नयाँ चर्चा सुरु भएको छ ।

मंगलबार ब्रेन्ट क्रुडको मूल्य २.४ प्रतिशतले घटेर प्रतिव्यारेल ८१.१५ अमेरिकी डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कारोबारका क्रममा यसको मूल्य ८०.८९ डलरसम्म पुगेको थियो, जुन मार्चयताकै न्यून हो ।

Advertisement

यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) क्रुडको मूल्य २.८ प्रतिशतले घटेर प्रतिव्यारेल ७८.५३ डलरमा सीमित भएको छ । कारोबारका क्रममा यो ७८.२७ डलरसम्म झरेको थियो, जुन मार्चपछि पहिलोपटक यति तल पुगेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धको जोखिम कम गर्ने उद्देश्यले अन्तरिम सहमति भएको घोषणा गरेपछि तेल बजारमा दबाब बढेको हो । उक्त घोषणापछि सोमबार मात्रै कच्चा तेलको मूल्य झन्डै ५ प्रतिशतले घटेको थियो ।

विशेषगरी होर्मुज जलडमरूमध्यबाट तेल आपूर्ति सहज हुने अपेक्षा बलियो बन्दै गएपछि बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएको छ । यही कारण लगानीकर्ताको मनोबल बढ्दा तेलको मूल्य थप घटेको विश्लेषकहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.