प्याकेटको सोयाबिनभित्र मरेको छेपारो, खाद्य गुणस्तरमाथि गम्भीर प्रश्न

मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ असार ३, बुधबार १२:१५

रंगेली । मोरङको रंगेली नगरपालिका–८ बक्राह डाँगी टोलमा एक परिवारले खरिद गरेको सोयाबिनको प्याकेटभित्र मरेको छेपारो भेटिएको । यसले खाद्य सुरक्षाको विषयलाई जटिल बनाएको छ ।

दैनिक उपभोगका लागि बजारमा बिक्री हुने खाद्य सामग्रीको गुणस्तर, उत्पादन प्रक्रियाको स्वच्छता र नियमनकारी निकायको प्रभावकारितामाथि समेत यस घटनाले गम्भीर प्रश्न उठाएको छ । स्थानीय झुनाकुमारी मण्डलले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन सोमबार बिहान खाना पकाउने क्रममा प्याकेटबाट निकालिएको सोयाबिनभित्र मृत अवस्थामा छेपारो फेला पारेकी हुन् ।

Advertisement

बिहान करिब ८ बजेतिर खाना तयार गर्ने क्रममा उक्त वस्तु देखिएपछि परिवारका सदस्य झस्किएका थिए । झुनाकुमारी मण्डलका अनुसार यदि रातिको समयमा वा ध्यान नदिई पकाएर खाएको भए परिवारका सदस्यको स्वास्थ्यमा गम्भीर असर पर्न सक्थ्यो । उनले भनिन्, ‘खाना पकाउने क्रममा देखिएकाले हामी सम्भावित जोखिमबाट जोगियौं । नहेरी पकाएको भए के हुन्थ्यो भन्ने सोच्दा पनि डर लाग्छ ।’

भागवत मण्डलको परिवारमा छोरा गोपाल मण्डल, छोरी दुर्गाकुमारी मण्डल, गोविन मण्डल, सासू रीता देवी मण्डल र ससुरा बासुदेव मण्डल बसोबास गर्दै आएका छन् । भागवत भने वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् ।

घटनाका बारेमा जानकारी पाएपछि भागवतले खाद्य पदार्थभित्र यस्ता वस्तु भेटिनु अत्यन्त गम्भीर लापरबाही भएको प्रतिक्रिया दिएका छन् । उनले उत्पादन कम्पनी तथा नियमनकारी निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन् ।

परिवारका अनुसार उक्त सोयाबिन नजिकैको पसलबाट ५० रुपैयाँमा खरिद गरिएको थियो । प्याकेटमा उल्लेख भएअनुसार उत्पादनकर्ता सुनसरीको इटहरी–१३ खनारस्थित लक्ष्मी फुड एण्ड स्न्याक्स उद्योग रहेको छ ।

खाद्य विज्ञहरूका अनुसार उत्पादन प्रक्रियामा स्वच्छता र गुणस्तर नियन्त्रणका मापदण्ड कडाइका साथ पालना नगर्दा यस्ता घटना हुन सक्छन् । खाद्य उद्योगमा कच्चा पदार्थ छनोट, प्रशोधन, प्याकेजिङ, भण्डारण र ढुवानीका प्रत्येक चरणमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । एउटा सानो त्रुटिले पनि उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

विज्ञहरुका अनुसार छेपारो वा अन्य सरिसृपजन्य जीवजन्तु खाद्य सामग्रीभित्र परेमा विभिन्न प्रकारका जीवाणु तथा रोगजन्य सूक्ष्मजीवको संक्रमण हुने जोखिम रहन्छ । यस्ता दूषित खाद्य पदार्थ सेवन गर्दा पेट दुख्ने, वान्ता हुने, झाडापखाला लाग्ने, खाद्य विषाक्तता (फुड पोइजनिङ), ज्वरो आउने तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा थप जटिल स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहने उनीहरु बताउँछन् ।

बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू यस्ता दूषित खाद्य पदार्थबाट झन् बढी प्रभावित हुन सक्ने कोशी अस्पताल विराटनगरका फिजिसियन डा. रोशन खड्काले बताए । उनका अनुसार खाद्य वस्तुमा जनावरको अवशेष वा मृत जीव भेटिनु सामान्य त्रुटि नभई उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय हो ।

उपभोक्ता अधिकारकर्मीहरूका अनुसार बजारमा बिक्रीका लागि ल्याइने प्रत्येक खाद्य वस्तु सुरक्षित, स्वच्छ र मानव उपभोगका लागि उपयुक्त हुनुपर्छ । उत्पादनकर्ता कम्पनीले गुणस्तर सुनिश्चित गर्नुपर्ने कानुनी दायित्व रहेको छ । यदि उत्पादन प्रक्रियामा लापरबाही पुष्टि भएमा सम्बन्धित उद्योगमाथि कारबाही, जरिबाना तथा उत्पादन फिर्ता गराउनेसम्मका प्रक्रिया अघि बढ्न सक्ने व्यवस्था रहेको छ ।

स्थानीयले पनि बजारमा खुलेआम बिक्री भइरहेका खाद्य सामग्रीको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार यस्ता घटना सार्वजनिक भएपछि मात्र सरोकारवाला निकाय सक्रिय हुने प्रवृत्ति अन्त्य हुनुपर्छ । उत्पादन स्थलदेखि बजारसम्मको सम्पूर्ण आपूर्ति शृंखलाको निगरानी प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ ।

मण्डल परिवारले खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित निकाय, स्थानीय प्रशासन तथा उपभोक्ता संरक्षणका निकायलाई घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ । परिवारले उक्त प्याकेट सुरक्षित राखिएको जानकारी दिँदै प्रयोगशाला परीक्षण तथा आवश्यक अनुसन्धानमार्फत वास्तविकता सार्वजनिक गर्न माग गरेको छ ।

यस घटनाले प्याकेजिङ गरिने खाद्य पदार्थप्रति उपभोक्ताको विश्वासमा समेत असर पुर्‍याएको छ । उपभोक्ताले बजारबाट खरिद गरेका खाद्य सामग्री प्रयोग गर्नुअघि म्याद, प्याकेजिङ अवस्था तथा अस्वाभाविक वस्तु भए–नभएको ध्यानपूर्वक निरीक्षण गर्नुपर्ने आवश्यकता पनि यस घटनाले स्मरण गराएको स्थानीय बताउँछन् ।

खाद्य सुरक्षा उद्योगको जिम्मेवारी मात्र नभई सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न र दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीयको माग रहेको छ । एउटा साधारण परिवारको भान्सामा भेटिएको मृत छेपारोले खाद्य गुणस्तर र उपभोक्ता सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.