
संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुर घाइते भएका छन् ।
खाँदबारी नगरपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालयको परिसरमा कम्पाउन्ड वाल निर्माण गरिरहेका बेला अचानक माथिबाट खसेको ढिस्कोले थिचिएर खाँदबारी–८ का २५ वर्षीय विज्ञान विश्वकर्मा घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निर्माणाधीन पर्खालको जगमा काम गरिरहेका विश्वकर्माको टाउको बाहेक शरीरको सबै भाग माटोको ढिस्कोले पुरिएको थियो । घटना लगत्तै खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा उनलाई जीवितै उद्धार गरिएको छ।
उद्धार लगत्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको छ। उनको स्वास्थ्य अवस्था र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















