बढ्दो गर्मीमा रेडक्रसको सचेतना र राहत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३, बुधबार १६:२४
बढ्दो गर्मीमा रेडक्रसको सचेतना र राहत

विराटनगर । विराटनगर लगायत तराई क्षेत्रमा अत्यधिक गर्मी (लु) बढेसँगै जनजीवन प्रभावित हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी मोरङले सचेतना तथा राहत वितरण कार्यक्रम सञ्चालन गरेको छ । गर्मीका कारण सबैभन्दा बढी मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न वर्गलाई लक्षित गरी रेडक्रसले विराटनगरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा रेडक्रसले गरिब तथा अति विपन्न परिवारलाई गर्मीबाट बच्न आवश्यक सामग्रीहरू समेत हस्तान्तरण गरेको छ । वितरण गरिएका सामग्रीहरूमा छाता, हातेपंखा, थर्मस, टोपीलगायत रहेका छन् ।

Advertisement

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले बढ्दो गर्मीमा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अत्यधिक गर्मीबाट बच्न दिउँसोको समयमा काम नगरी बिहान र बेलुका मात्र काम गर्ने बानी बसाल्नु पर्छ । प्रशस्त मात्रामा पानी पिउन र जरुरी कामबाहेक घाममा नहिँड्न सबैलाई आग्रह गर्दछु ।’ उनले घाम सिधै टाउकोमा लाग्दा धेरै समस्या आउने भएकाले टाउकोमा गाम्चा, टोपी लगाउनुका साथै छाता ओढेर हिँड्नु पर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति शुकदेवप्रसाद मण्डलले रेडक्रसले मानवीय सेवाका क्षेत्रमा सधैँ अग्रणी भूमिका खेल्दै आएको चर्चा गरे । उनले रक्तदान, विपद् व्यवस्थापन र वृक्षारोपण जस्ता नियमित कार्यसँगै अहिलेको विषम मौसमी अवस्थामा सर्वसाधारणलाई जोगाउन सचेतना अभियान सुरु गरिएको बताए ।

रेडक्रस मोरङका प्रशासन अधिकृत संजयकुमार कामतले सहजीकरण गरेको उक्त कार्यक्रममा गर्मीका कारण हुनसक्ने स्वास्थ्य जोखिम र त्यसबाट बच्ने उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.