फाइल फाेटाेविराटनगर । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा एक जना घाइते भएकी छन् ।
कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका– ३ बस्ने २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार ५ वर्षीया हाजिरा खातुनको मृत्यु भएको हो । सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४५ वर्षीया नुरेश सादेवी गम्भीर घाइते छिन् । डिएसपी अवाका अनुसार मृतक दुई नुरेश सादेवीका छोराछोरी हुन् ।
दुर्घटना गम्भीर घाइते उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा पुर्याइएको भए पनि चिकित्सकले समिर र हाजिरालाई मृत घोषणा गरेका थिए । नुरेशलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको उनले बताए । दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालक कनकाई नगरपालिका– ५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

























