कोशीबाट फैलिँदै मनसुन, केही स्थानमा भारी वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार ०६:३१

विराटनगर । नेपालमा यस वर्षको मनसुन कोशी प्रदेशबाट प्रवेश गरेको छ । कोशीबाट प्रवेश गरेको मनसुन सबैतिर फैलिने क्रममा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव देखिएको छ । अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायुको प्रभाव कायम छ । आज (शनिबार) बिहान कोशी प्रदेशका विभिन्न स्थान तथा देशका अधिकांश हिमाली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

Advertisement

कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । तराईका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यद्यपि, कोशीका हिमाली, पहाडी तथा तराई क्षेत्रका केही स्थानमा बिहानैबाट मध्यम वर्षा पनि भइरहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ । कोशीका केही स्थान तथा बागमती र गण्डकीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्छ ।

कोशी प्रदेशको तराईका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो लहरको अवस्था कायम रहने तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा अत्यधिक गर्मी महसुस हुन सक्ने बताइएको छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा कोशी प्रदेशका तराई क्षेत्रमा बदली रहनेछ । यी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी र गण्डकीका पहाडी भूभाग तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.