
विराटनगर । मोरङमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका कर्मचारीको शुक्रबार मृत्यु भएको छ । करेन्ट लागेर रतुवामाई नगरपालिका–४ का ४६ वर्षीय सुर्जानन्द मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डल प्राधिकरणको रंगेली वितरण केन्द्रमा करारमा कार्यरत कर्मचारी हुन् । रतुवामाई–१ हटिया डाँडामा पोलमाथि चढेर विद्युत मर्मत गर्ने क्रममा शुक्रबार दिउँसो १ः२० बजेतिर मण्डललाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले दिउँसो २ः३० बजेतिर उनलाई मृत घोषणा गरिदिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
शवलाई रंगेली अस्पतालमै राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























