स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १४:०९
स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० जना घाइते

विराटनगर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी जोगी टोलमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

महोत्तरीको गौशालास्थित दीप एजुकेसन बोर्डिङ स्कुलको बा २ ख ६४३८ को बस सुनसरीको वराहक्षेत्र तीर्थ स्थलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान ८ः५० बजेतिर स्कुलका कर्मचारी सवार भएको बस सडकबाट १२ मिटर तल खसेर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परेर गम्भीर घाइते भएका बर्दिबास नगरपालिकाका ५५ वर्षीय विमलेशकुमार दत्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भए लगत्तै घाइतेहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी उदयपुर जिल्ला अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा दत्तको ९ः५० बजे मृत्यु भएको थियो । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ५ जनाको मध्यम र २३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–२ की ३८ वर्षीया रसिलाकुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देशकुमार चौधरीलाई गम्भीर घाइते भएकाले उनीहरूलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ ।

बस चालक गौशाला नगरपालिका–१० का २८ वर्षीय जीवन आले सकुशल रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.