मोरङ कारागारमा कैद भुक्तान गरिरहेका वृद्धको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार ०८:०९

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहानका राति मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले बताए । उनका अनुसार अचानक चक्कर लाग्ने र सास फर्ने गाह्रो हुने समस्या देखिएपछि दाहाललाई उपचारका लागि शनिबार बिहान ११ः३० बजेतिर विराटनगरको कोशी अस्पताल भर्ना गरिएको थियो ।

Advertisement

उपचारकै क्रममा अवस्था गम्भीर भएर आइतबार बिहानका राति २ बजेतिर मृत्यु भएको जानकारी घिमिरले दिए । उनी बिरामी परेपछि कारागार प्रशासनले परिवार र आफन्तलाई जानकारी गराएको थियो । परिवारका सदस्य र आफन्तकै उपस्थितिमा उपचार जारी रहेका बेला दाहालको मृत्यु भएको कारागारले जनाएको छ ।

दाहाल जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका कैदी हुन् । जबरजस्ती करणी मुद्दामा २०७५ साल पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएका उनलाई पछि जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार कैद सजाय भुक्तानका लागि दाहालले २०९१ साल पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो ।

तर, सजाय भुक्तान गर्न धेरै समय बाँकी रहेकै बेला वृद्ध कैदीको मृत्यु भएको हो । दाहालले हालसम्म करिब साढे ७ वर्ष कैद भुक्तान गरिसकेका थिए । उनको शव हाल अस्पतालमै रहेको र परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको कारागार प्रशासक घिमिरेले बताए ।

जिल्ला कारागार मोरङमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन् । कारागार प्रशासनका अनुसार आश्रित बालिका १ जना, महिला १ सय १० जना र पुरुष १ हजार ९७ जना रहेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.