
झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम स्टेण्डमा रहेको बीवाईडी गाडीको आधिकारिक सर्भिस सेन्टर चट्याङपछि लागेको आगोले जलेर ध्वस्त भएको छ ।
विकाश बस्नेतले सञ्चालन गरेको टिन प्रयोग गरी ट्रस लगाएर बनाइएको ईभी सर्भिस सेन्टरमा वर्षासँगै परेको चट्याङका कारण आइतबार बिहान ४ः४० बजेति अचानक आगलागी भएको थियो । आगलागीबाट सेन्टर पूर्णरूपमा जलेर नष्ट भएको छ । करिब ६० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति भने हुन पाएन । स्थानीय, बिर्तामोड नगरपालिकाको दमकल र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । आगो पूर्णरूपले नियन्त्रणमा लिन करिब १ घण्टा लागेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















