फाइल तस्बिरविराटनगर । झापाको बाहुनडाँगी क्षेत्रमा हात्ती आतंक नियन्त्रणका लागि रबरको गोली प्रयोग सांसदले माग गरेका छन् । कोशी प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विशेष समयमा बोल्दै रबरकाे गाेली प्रयाेग गर्न माग गरेका हुन् ।
भारतबाट मेची नदी पार गरेर आउने जंगली हात्तीका बथानलाई रबरको गोली हानेरै भए पनि फिर्ता पठाउनु पर्ने उनकाे भनाई छ ।
गत जेठ ३१ गते बाहुनडाँगीमा हात्तीको आक्रमणबाट पदमा पौडेलको मृत्यु भएको थियाे । साे घटनाकाे स्मरण गर्दै उनले स्थानीय बासिन्दा दशकौंदेखि त्रासको भुमरीमा बाँचिरहेको उल्लेख गरे ।
प्रमुख सचेतक तामाङले सरकारले अघि सारेको ‘हात्तीमैत्री तथा जैविक कोरिडोर’ को अवधारणाप्रति असन्तुष्टि जनाए । बाहुनडाँगीदेखि कोशीटप्पुसम्मको मानव बस्ती र खेतीयोग्य जमिनलाई समेटेर बनाउन लागिएको यो कोरिडोर स्थानीयका लागि अभिशाप हुने उनकाे भनाई छ ।
हात्ती नियन्त्रणको दीर्घकालीन समाधानका लागि मेची नदीको तटबन्ध बनाउनु उनले माग गरे । ५ किलोमिटर क्षेत्रमा तत्काल बलियो संयन्त्र निर्माण गरे हात्तीकाे आतङ्क नहुने उनकाे भनाई छ ।

























