रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १९:३८

चितवन । चितवनमा आइतबारबाट सुरु भएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन एउटा संगठनात्मक कार्यक्रममा सीमित रहेन । महाधिवेशनको उद्घाटन मञ्चबाट पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले दिएका अभिव्यक्तिहरूले पार्टीभित्र र बाहिर फैलाइएका शंका, आशंका र सम्भावित विभाजनका चर्चामाथि एकैपटक जवाफ दिएका छन् ।

लामो समयदेखि रास्वपाभित्र रवि र बालेनबीच दूरी बढेको, सरकार सञ्चालनलाई लिएर मतभेद रहेको तथा विभिन्न समूहले दुई नेताबीच अविश्वास सिर्जना गर्न खोजिरहेको चर्चा चलिरहेकै बेला महाधिवेशनको मञ्चबाट दुवैले एकअर्काप्रति विश्वास र सहकार्यको प्रतिबद्धता सार्वजनिक गरेका हुन् । रविले सरकार सञ्चालनको जिम्मा बालेनको काँधमा रहेको बताउँदै फुटको चर्चा गर्नेहरूलाई अप्रत्यक्ष जवाफ दिए । उनले चुनावअघि नै ‘बल’ बालेनको खुट्टामा पुर्‍याइसकेको उल्लेख गर्दै अब गोल गर्ने जिम्मा बालेनको भएको बताए ।

Advertisement

उनले अझ अगाडि बढेर भने, ‘झुक्किएर त्यो बल कहीँ मतिर आएछ भने पनि फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो ।’ रविको यो अभिव्यक्तिलाई राजनीतिक भाषामा बुझ्नेहरूका लागि एउटा स्पष्ट सन्देश थियो, ‘सरकार र पार्टी सञ्चालनमा बालेनलाई पूर्ण समर्थन छ । नेतृत्वबीच कुनै प्रतिस्पर्धा छैन ।’

‘मुख मिठ्याउने’ र ‘चुक्ली लगाउने’ मानिसहरू धेरै रहेको उल्लेख गर्दै रविले आफू तिनलाई नभएर इतिहासलाई जवाफ दिन बोलिरहेको बताए । उनको संकेत पार्टीभित्र र बाहिरबाट दुई नेताबीच अविश्वास सिर्जना गर्ने प्रयासतर्फ थियो ।

उता प्रधानमन्त्री बालेनले पनि आफ्ना अभिव्यक्तिहरूबाट रविप्रति विश्वास कायम रहेको सन्देश दिन खोजे । संसदमा उठेका सीमा विवाद, अख्तियारसँगको छलफल र सरकारको कार्यशैलीबारेका प्रश्नहरूको जवाफ महाधिवेशनकै मञ्चबाट दिँदै उनले सरकारको गति रोक्ने कुनै मनसाय नरहेको स्पष्ट पारे ।

एमाले नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा बेला–बेला ब्रेक पनि लगाउनुपर्ने टिप्पणी गरेको प्रसंगलाई स्मरण गर्दै बालेनले आफ्नो सरकारको ‘गाडी’ एक्सप्रेस वेमा रहेको र गन्तव्यमा नपुग्दासम्म ब्रेक नलाग्ने बताए । यसले सरकारको निरन्तरता र दृढताको सन्देश दिएको थियो ।

महाधिवेशनमा रविले पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिए । पुराना दलहरूबाट पाठ सिक्दै अघि बढ्न सके रास्वपालाई विभाजित गर्ने शक्ति जन्मिन नसक्ने उनको दाबी थियो । यो अभिव्यक्तिले पनि पार्टीभित्रको सम्भावित ध्रुवीकरणलाई रोक्ने संकेत गरेको छ ।

अर्कोतर्फ बालेनले यही कार्यकालमा सुकुम्वासी र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै अर्को निर्वाचनमा पुरानै एजेन्डा बोकेर मत माग्न नजाने घोषणा गरे । यसले सरकारको ध्यान विकास र परिणाममा केन्द्रित रहेको सन्देश दिन खोजेको देखिन्छ ।

रोचक पक्ष के थियो भने रविले कांग्रेस र एमालेभित्र देखिएका समस्याप्रति समेत चासो व्यक्त गर्दै ती दलहरूले आफ्ना अप्ठेराहरू समाधान गर्नुपर्ने सुझाव दिए । ठूला दलहरूको संकट उनीहरूको आन्तरिक विषय मात्र नभई देशकै समस्या बन्न सक्नेमा उनको आशंका थियो ।

महाधिवेशनको पहिलो दिन रविले र बालेनले दिएका अभिव्यक्तिबाट पार्टी र सरकारभित्र विभाजनको कथा खोज्नेहरूका लागि भिन्दै सन्देश दिएको छ । उनीहरुले सन्देश थियो, ‘हामी एक छौं’ ।

राजनीतिमा सम्बन्ध बिग्रिएको भन्दा बिग्रिएको देखाइने प्रयास धेरै हुने गर्छ । तर, चितवनको मञ्चबाट रवि र बालेनले दिएको सन्देश भने फरक थियो, ‘हामीबीच अविश्वास छैन । हामी एक छौं । नेतृत्वबीचमा कुनै समस्या र प्रतिस्पर्धा छैन ।’

तपाइको प्रतिक्रिया
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
रवि–बालेनको सन्देश : ‘हामी एक छौं, कुनै प्रतिस्पर्धा छैन’
समापन भयाे रास्वपा महाधिवेशनकाे उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा रवि : सरकारबाट बालेनले गाेल हान्नु हुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु
रास्वपाकाे हातमा देश छ, चिन्ता गर्नु पर्दैन : रवि लामिछाने
सीमा विवादमा तेस्राे पक्षकाे मध्यस्तता खाेजेकाे हाेइन : प्रधानमन्त्री
अख्तियारकाे टाेलीलाई प्रधानमन्त्री कार्यालयमा राखेकाे घटनामा बालेन : ‘५ वर्ष राख्न सक्छाैं’
रास्वपा महाधिवेशनमा गगन थापा : ‘तपाईंहरूभन्दा अग्लो बन्छौं एक दिन’
प्रदीप ज्ञवालीलाई प्रधानमन्त्रीकाे जवाफ : ‘सरकारकाे गाडी गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’
रास्वपा महाधिवेशनमा गगन थापा : गल्ती गर्दा प्रश्न गर्न सक्नुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.